शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
संयत - मर्यादा वा सीमाभित्र रहेको
धूमिल - स्पष्ट नदेखिने
कर्कोटक - पुराणप्रसिद्ध आठ नागमध्ये एक
कन्दमूल - माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल
किंकर्तव्यविमूढ - बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
निषाद - एक प्राचीन जाति
वल्कल - रुखको बोक्राद्वारा बनेको पोसाक
सैरन्ध्री - रूपसज्जाको काममा खटिएकी सेविका
शिंशपा - एक जातको रुख, सिसौ
देहयष्टि - लौरो झैँ दुब्लो शरीर
दुकूल - रेसमी पछ्यौरा
सार्थवाह - व्यापारी लस्करको मुखिया
२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :
(क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रको समूह
- तारामण्डल
(ख) गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि
- यक्ष वा गन्धर्व
(ग) बस्न र केही राख्न हुने गरी गाराको सट्टा थाम हाली बनाइएको घरको गाराको बाहिरी भाग
- पिँढी
(घ) सुसार गर्ने काममा खटिएको
- सुसारे
(ङ) जनसाधारणको बसोबास भएको ठाउँ
- जनपद
३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
सुइँकुच्चा ठोक्नु - पुलिसलाई देखेर चोर सुइँकुच्चा ठोकेछ ।
लम्पसार पर्नु - देशको विकास गर्ने बेलामा हामी लम्पसार परेर सुतिरहनु हुँदैन ।
आँखा लाग्नु - सिनेमा हेर्दाहेर्दै कति बेला आँखा लागेछ थाहै भएन ।
मुख फोर्नु - गोपालले मुख फोरेरै रामको साइकल माग्यो ।
तातो लाग्नु - हामीले प्रगति गरेको देखेपछि त तलाई पनि तातो लाग्ला नि !
तेल लगाउनु - जागिर खान अरूलाई तेल लगाउनुभन्दा बरु व्यापार गर्नु राम्रो हुन्छ ।
सोत्तर हुनु - कोरोनाको महामारी फैलिएर पारि गाउँ त सोत्तर भएछ ।
४. दिइएका शब्दको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
दिन - रात
दुःखी - सुखी
उदाइसकेको - अस्ताइसकेको
पराजय - विजय
विजित - अपराजिता
अपमान - सम्मान
सूर्यास्त - सूर्योदय
देब्रे - दाहिने
वियोग - मिलन
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
सरुवा - सङ्क्रामक, सर्ने किसिमको
बढुवा - तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम
अधिकृत - राजपत्राङ्कित वा सो सरहको कर्मचारी कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
निलम्बन - पद, अधिकार वा दायित्वको रोक्का
परिपत्र - विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित व्यक्ति, संस्था वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र (सर्कुलर)
स्पष्टीकरण - छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम, कुनै कर्मचारीले बेनियमको काम गरेमा माथिल्लो तहका कर्मचारीले नसिहतका रूपमा लिने लिखित बयान
आदेश - कुनै काम कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा, अहोट
टिप्पणी - कठोर र गूढ अर्थको व्याख्या, टीका विशेष कुरा सम्झाउन लेखिने सानो लेख
भरपाई - कसैसग लेनदेन हुदा लिनेवालाले दिनेवालालाई प्रमाणस्वरूप दिइने रसिद, बुझी लिनेले लिएको हु भन्ने रसिद
फर्स्योट - लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना
बेरुजु - रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको
राजस्व - मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
बोध र अभिव्यक्ति
१. 'विरहिणी दमयन्ती' कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्नुहोस् ।
उत्तर :
कथाको आदि (सुरु): आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्गलमा एक्लै हिँडिरहनु, नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु, कर्कोटकले रक्सी खाएर उङ्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु ।
मध्य : जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु, शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्मसौगन्धिक तलाउमा वास बस्नु, जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु, रुख चढ्न सफल दमयन्तीसहित दशबाह जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु ।
अन्त्य : दमयन्ती चेदी जनपद पुग्नु, चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु ।
२. कथा पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दमयन्ती जङ्गलमा किन एक्लै हिँडिरहेकी हुन् ?
उत्तर : दमयन्ती जङ्गलमा आफ्ना प्रिय प्रति निषधराज नलको खोजी गर्दै एक्लै हिँडिरहेकी हुन् ।
(ख) दमयन्तीले यात्रा गरेका मुख्य ठाउँ कुन कुन हुन् ?
उत्तर : दमयन्तीले यात्रा गरेका मुख्य ठाउँहरू कर्कोटक नागहरूको बस्तीमा रहेको नागयुवकको छाप्रो, बस्ती नजिकैको घनघोर जङ्गल, सानो खोला, पद्मसौबन्धिक तलाउ, चेदी जनपद हुन् ।
(ग) जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती कसरी सफल भइन् ?
उत्तर : सुरुमै आफूलाई जोगाएर एउटा अग्लो रुखमाथि चढेर बसेकाले जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती सफल भइन् ।
३. कथा पढी दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :
- आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्गलमा एक्लै हिँडिरहनु
- नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु
- कर्कोटकले रक्सी खाएर उड्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु
- जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु
- शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्मसौगन्धिक तलाउमा वास बस्नु
- जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु
- रुख चढ्न सफल दमयन्तीसहित दशबाह जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु
- दमयन्ती चेदी जनपद पुग्नु
- चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु ।
४. कथामा प्रयुक्त पौराणिक पात्रका नाम भन्नुहोस् र तिनको भूमिका वर्णन गर्नुहोस् ।
उत्तर :
कथामा प्रयुक्त पौराणिक पात्र र तिनको भूमिका निम्नअनुसार उल्लेख गरिएको छ :
नल - निषधका राजा, दमयन्तीको पति, कथामा प्रत्यक्ष भूमिका नभएको
दमयन्ती - रानी, नलकी पत्नी, कथाको मुख्य नारी पात्र, शीर्ष तथा केन्द्रीय भूमिका
पुष्कर - नलको भाइ, दमयन्तीको सपनामा आएको
नागयुवक - कर्कोटक जातिको नाग, नकारात्मक चरित्रमा देखिएको
शुचिभद्र - एक सेठ, सार्थवाह, सहायक भूमिका
सुबाहु - चेदीका राजा, सुनन्दाको पति, प्रत्यक्ष भूमिका नभएको
सुनन्दा - दमयन्तीकी ठुलीआमा, अन्त्यमा सानो भूमिका ।
५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) 'मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ' भन्नुको तात्पर्य के हो ?
उत्तर : मानिसको परिचय उसको शरीर अर्थात् रूपसँग हुँदैन । मानिसको विचार सही हुनु पर्छ । हृदय सफा हुनु पर्छ । विचार र हृदय सफा भएको व्यक्ति नै असल र महान् हो । शरीर अर्थात् रूप केही होइन । दमयन्तीले आफ्नो रूपलाई विकृत बनाए पनि उनको विचार र हृदय सफा थियो ।
(ख) दमयन्तीले आफ्नो रूप किन बदलेकी हुन् ?
उत्तर : दमयन्तीले नागयुवकजस्ता खराब चरित्रबाट उम्केर भागेपछि पुनः त्यस्ता व्यक्तिबाट बच्नका लागि आफ्नो रूपलाई विकृत बनाएकी हुन्छिन् । कुरूप र बौलाही ठानेर आक्रमण नगरुन् भन्ने उनको सोच थियो । सुरक्षित किसिमले आफ्ना पति नललाई फेला पार्न दमयन्तीले आफ्नो रूप बदलेकी हुन् ।
६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?
उत्तर : माथिको अनुच्छेदमा रातीको समयको कालोनिलो आकाशमा विभिन्न तारामण्डलहरूको मनमोहक परिवेश चित्रण गरिएको छ । सुन्दर प्राकृतिक दृश्यले दमयन्तीको सोचलाई सङ्गीतमय बनाएको परिवेश अनुच्छेदमा चित्रण गरिएको छ।
(ख) आकाश र दमयन्तीको हृदयका बिच के समानता छ ?
उत्तर : आकाश सुन्दर छ । दमयन्तीको हृदय पनि सुन्दर छ । पातला बादले सुन्दर आकाशलाई धूमिल बनाए जस्तै विरहले दमयन्तीको हृदय पनि धूमिल बनाएको छ । यसरी आकाश र दमयन्तीको हृदयका बिच समानता छ ।
७. समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) 'नारी प्रेम र संघर्षका प्रतिमूर्ति हुन्' यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : मदनमणि दीक्षित (वि.सं. १९७९ - २०७६) द्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । दीक्षित वैदिक र पौराणिक विषयवस्तुलाई साहित्यमा ढाल्ने बहुआयामिक व्यक्तित्व हुन् । प्रस्तुत कथामा कथाकारले दमयन्तीको सङ्घर्षका माध्यमबाट नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन् भन्ने कुरालाई अभिव्यक्त गरेका छन् ।
घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । घनघोर जड्ल अनि एक्ली नारीले गरेको सङ्घर्ष साँच्चै कहाली लाग्दो छ । उनी दृढ भएर आफ्नो प्रेम प्राप्त गर्न अघि बढ्छिन् । नागयुवकको कामुक दृष्टिमा परेकी उनी बुद्धि लगाएर भाग्न सफल हुन्छिन् । तीन दिन जङ्गलमा आफ्नो रूप विकृत बनाएर पतिलाई खोज्न हिँडिरहन्छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा वास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यसपछि चेदीमा पुगेर आफ्नो वास्तविक परिचय बदली आफ्नै ठुलीआमाको घरमा पति नलको खोजीमा काम गर्न थाल्छिन् ।
यसप्रकार घनघोर जङ्गलको मतलब नगरी खराब प्रवृत्तिबाट जोगिन रूप विकृत गरी दमयन्तीले गरेको सङ्घर्ष आफ्नो प्रेम अर्थात् पतिको खोजीका लागि थियो । दमयन्ती दृढ भएर आफ्नो लक्ष्यमा विभिन्न कठिन बाधालाई झेल्दै गन्तव्यतिर बढेको देखाएर कथाकारले 'नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन्' भन्ने पुष्टि गरेका छन् ।
(ख) दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन् ?
उत्तर : मदनमणि दीक्षित (वि.सं. १९७९ - २०७६) द्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । दीक्षित वैदिक र पौराणिक विषयवस्तुलाई साहित्यमा ढाल्ने बहुआयामिक व्यक्तित्व हुन् । कथामा कथाकारले दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि अपनाएका उपायलाई रोचक पाराले उल्लेख गरेका छन् ।
दमयन्तीको पहिलो समस्या नागयुवकको कामुक दृष्टि हुन्छ । यस समस्याको समाधान उनले बुद्धिको प्रयोग गरेर गर्छिन् । नागयुवकसँग प्रेमपूर्वक उपस्थित भएर मदिरामा मस्त बनाएर झुपडीमा आगो लगाएर भाग्न सफल हुन्छिन् । रातभर रुखमा चढेर बस्छिन् र जोगिन सफल हुन्छिन् । खराब प्रवृत्तिसँग जोगिन आफ्नो रूपलाई विकृत बनाउँछिन् । तीन दिनसम्म घनघोर जङ्गलमा हिँडिरहन्छिन् । हातमा लौरो लिएर हिँड्छिन् । हरेक बखत सतर्क र चनाखो रहन्छिन् । सार्थवाहसँग तलाउमा वास बस्दा पनि हात्तीको आक्रमणबाट जोगिन अग्लो रुखमाथि चढ्छिन् । आफ्नै ठुलीआमाकोमा पनि परिचय लुकाएर सर्तसहित काम गर्न तयार हुन्छिन् ।
यसप्रकार दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि दृढ इच्छाशक्ति, बुद्धि र परिस्थितिअनुसारको कदम जस्ता उपाय अवलम्बन गरेकी छन् ।
(ग) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा 'विरहिणी दमयन्ती'
कथाका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर : मदनमणि दीक्षित (वि.सं. १९७९-२०७६) द्वारा रचित 'विरहिणी दमयन्ती' पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । दीक्षित वैदिक र पौराणिक विषयवस्तुलाई साहित्यमा ढाल्ने बहुआयामिक व्यक्तित्व हुन् । प्रस्तुत कथामा कथाकारले नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन् भन्ने कुराका साथै आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा पुष्टि गरेका छन् ।
आफ्नो लक्ष्य निर्धारण भएपछि मानिसमा इच्छाशक्तिको आवश्यकता पर्दछ । दृढ सङ्कल्प लिनु आवश्यक हुन्छ । दृढ सङ्कल्प पूरा गर्न मानिस जस्तोसुकै सङ्घर्षको मैदानमा उत्रिन पनि तयार हुन्छ । कथामा दमयन्ती आफ्नो पति नललाई खोज्ने दृढ सङ्कल्प लिएर त्यो घनघोर जङ्गलमा एक्लै भौतारिन्छिन् । नागयुवकबाट बच्न सफल भएपछि पनि उनी हरेस नखाएर अझ दृढ हुँदै गन्तव्यतर्फ अघि बढ्छिन् । यसका लागि उनले आफ्नो रूपलाई विकृत बनाएर बौलाही जस्तो बन्ने, आफ्नो परिचय लुकाउने, भोकनिद्रा माया मार्ने जस्ता थुप्रै उपायसमेत अवलम्बन गर्छिन् । यसप्रकार आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा नारी पात्र दमयन्तीका माध्यमबाट पुष्टि गरेका छन् ।
८. तलको अनुछेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस :
(क) किन मनलाई कल्पनाको कारक मानिएको हो ?
→ संसारको कल्पना गर्ने एक मात्र इन्द्रिय भएकाले मनलाई कल्पनाको कारक मानिएको हो ।
(ख) मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य के हो ?
→ मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य मन कहिल्यै पनि अस्थिर र एकनासको हुदैन हो ।
(ग) आत्मज्ञानीहरूका विचारमा मन र संसारको सम्वन्ध कस्तो छ ?
→ आत्मज्ञानीहरूका विचारमा संसार भएमा मात्र मन हुने र मन भए मात्र संसार हुने भएकाले मन र संसारको सम्बन्ध घनिष्ठ रहेको छ ।
(घ) मनलाई किन सुख र दुःखको कारण भनिएको हो ?
→ मानिसलाई सुख र दुःखको अनुभव गराउने मुख्य कार्य नै मनको भएकाले मनलाई सुख र दुःखको कारण भनिएको हो ।
९. 'बेरोजगारी समाधानका उपाय' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् :
→
"बेरोजगारी समाधानका उपाय"
कुनै पनि जागिर, पेशा वा काम गर्ने अबसर नपाएको अवस्था बेरोजगारी हो । नेपालमा बेरोजगारी समस्याको धेरै कारणहरु छन् । पहिलो सरकारले विद्यालय तहमा प्राविधिक शिक्षा दिन सकेको छैन । दोस्रो कारखाना र उद्योगहरु रोजगारीको माग पूरा गर्न राम्रोसँग फस्टाएका छैनन् । अर्को, धेरै मानिसहरु को लक्ष्य सरकारी जागिर मात्र हो, जो पर्याप्त छैन । नेपाल कृषि मा धनी छ, तर धेरै शिक्षित मानिसहरु खेती मा काम गर्न चाहँदैनन् र कृषि क्षेत्र को पर्याप्त विकास छैन । यसबाहेक नेपाल मा पर्यटनको संभावनाहरु धेरै छ जसले रोजगार प्रदान गर्न सक्छ तर पर्यटन राम्रो र सन्तोषजनक ढंगले विकसित भएको छैन । बारम्बार हुने राजनैतिक विकारले कारखानाहरु र कम्पनीहरु लाई विकसित गर्न को लागी हतोत्साहित गरेको छ । नतिजाको रूपमा मानिसहरु नेपालमा जागिर पाउने बारेमा निराश छन् ।
बेरोजगारी को समस्या समाधान गर्नु पर्छ । सबै क्षेत्रका मानिसहरूले यस सन्दर्भमा केहि गर्नै पर्छ । सरकारले विद्यालय स्तरबाट प्राविधिक र व्यावहारिक शिक्षा प्रदान गर्ने नीति बनाउनुपर्छ । यो साँच्चै विद्यार्थीहरुलाई परिपक्व हुँदा उनीहरुको समुदायमा केहि काम गर्नको लागी मद्दत गर्दछ । अर्को मानिसहरुलाई उपकरणहरु प्रधान गरि उनीहरुलाई नयाँ खेती विधिहरुलाई लागू गर्न को लागी सक्षम बनाउन पर्छ । त्यसै गरी, पर्यटन को व्यापक विकास हुनु पर्छ । नेपालमा अवस्थित कारखाना र उद्योगहरुलाई सुधार गर्नु पर्छ र नयाँ उद्योगहरुलाई बदल्न को लागी स्थापित गर्नु पर्छ । युवाहरुलाई अन्य देशहरुमा जानबाट रोक्नु पर्छ र उनीहरुलाई येही केहि प्रकार को रोजगार मा संलग्न गराउनु पर्दछ । यसले जनताको जीवनस्तर बढाउनेछ र अप्रत्यक्ष रुपमा धेरै रोजगारी सृजना हुनेछ ।
बेरोजगारी को समस्या जनता र राष्ट्र को आर्थिक बृद्धि को बिरुद्ध छ । एक व्यक्ति को प्रयास वा एक समुदाय को प्रयास वा मात्र सरकार को प्रयासले यो भयानक समस्याको समाधान पर्याप्त छैन । सबैले समाजमा रोजगारी सृजना गर्न को लागी केहि गर्नु पर्छ । तब मात्र युवा शक्ति राष्ट्रको विकासमा उपयोग हुन्छ । साथै नेपाल सरकारले बेरोजगारी समस्यामा ध्यान दिनुपर्छ र नेपालमा बेरोजगारी समस्या नियन्त्रण र न्यूनीकरण गर्न उचित र प्रभावकारी नीति बनाउनु पर्छ ।
व्याकरण