उज्यालो दिन फेरि अवश़्य आउनेछ
समय मात्र खराब हो महोदय
प्रतीक्षा गर्नुहोस,
मुहारमा मुस्कान फेरि आउनेछ।
'शिक्षा एउटा यस्तो हतियार हो जस्ले बुध्दुलाई बुध्द बनाउन सक्छ।'
कोरोना भाइरस चीनको बुहान शहरबाट सुरु भई छोटो समयमा संसारभर फैलिएको एक प्राण घातक रोग जसका अगाडि संसारका शक्तिशाली भन्दा अति शक्तिशाली राष्ट्र अनि व्यक्तिहरु शिर झुकाउन बाध्य भए। एउटा यस्तो महामारी जसबाट बच्न बन्दाबन्दी भन्दा अरु विकल्प थिएन। त्यो विषम परिस्थितिमा सम्पूर्ण क्षेत्रहरु प्रभावित भए । अनि शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेन।
लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यालयको भौतिक पूर्वाधारमा क्षति हुनुका साथै कति विद्यालयले त आफ्नो अस्तित्व समेत गुमाउन पुगे। रोजीरोटी नै विद्यालयको भर भएका विशेष गरी संस्थागत विद्यालयका शिक्षकले पेशा परिवर्तन गर्नुका साथै कतिले त आत्महत्या समेत गर्न पुगे।
विगत,वर्तमान अनि भविष्य तीनै वटा समयलाई दृष्टिगत गरेर हेर्दा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित विद्यार्थी वर्ग नै हुन पुगेको छन् । विद्यार्थीहरु घरमै बसेर कसैको दवाव अनि प्रभावमा नपरि आफ्नो इच्छा र क्षमता अनुसार अध्ययन गरिरहेका थिए। तर युवा वर्गका 'ब्रान्ड एम्बासडर 'मानिने विद्यार्थीहरुले सुन्दर संचार हेर्ने समयमा अन्धकार भविष्य देख्नु राम्रो संकेत भने पक्कै होइन।
कोरोना महामारीका कारण सुरु गरिएको अनलाइन पढाइबाट विद्यार्थीले सैद्धान्तिक ज्ञान त पर्याप्त प्राप्त गरिरहेका थिए। तर अतिरिक्त क्रियाकलाप शून्य सरह थियो जसले विद्यार्थीहरूको वौद्धिक विकासमा प्रत्यक्ष असर पुर्याएको छ। विद्यार्थीहरु खेल्ने , दौडिने उफ्रिने उमेरमा Free-Fire र PUBG जस्तो गेम रोज्दै थिए। अनि संघर्षले सफलताको कथा लेख्ने बेलामा टिकटकमा फलोवर बढाउने उपाए खोज्दै थिए ।
कोरनाकालमा पनि सिकाइको प्रक्रियालाई निरन्तरता दिन वैकल्पिक विधिका रूपमा अनलाइन कक्षा सञ्चालन गरियो । तर फोनमा बोल्नलाई रूखमा चढ्नु पर्ने देशमा अनलाइन कक्षा सञ्चालन गर्नु घरको थाल ठटाएर वनको बाँदर खेद्नु सरह हो।
म आफैं अनलाइन कक्षा पढेको विद्यार्थी हुँ । मलाई राम्रोसँग थाहा छ अनलाइन कक्षाका कथाहरु । मलाई राम्रोसँग थाहा छ कलम र कलम किन्ने पैसाले मास्क र सेनिटाइजर किन्दाका ब्याथाहरू ।
२०६० सालमा एसएलसी परीक्षामा असफल भएर पढ्न छाड्नु भएका हर्क काकाले त्यसपछि विद्यालय नै नगइ २०७७ सालमा उत्कृष्ट अंकका साथ एसईई उत्तीर्ण गर्नु भयो । तर दिनहुँ विद्यालय जाने रमिलाले उसको योग्यता अनुसारको नतिजा पाइन । काठमाडौंको कलेजमा भर्ना लिएर मेरो दाइ घरमै बसेर इञ्जिनियरिङ गर्दै हुनुहुन्छ । मलाई चिन्ता लाग्छ मेरो देशले कस्तो जनशक्ति उत्पादन गर्छ भनेर ।
कोरोना भाइरसले शैक्षिक क्षेत्रमा केही सकारात्मक प्रभाव पारेको छ। औँलामा गन्न सकिने फाइदालाई दृष्टिगत गरेर यो जटिल समस्यालाई कम ठान्ने गल्ती पक्कै गर्नु हुँदैन।
नेपाल सरकारको तथ्यांक अनुसार ५० प्रतिशत नागरिकले कोरुना भाइरस विरुद्धको खोप प्राप्त गरिसकेका छन् तर राष्ट्रका राष्ट्रका कर्णधार मानिने अधिकांश विद्यार्थी खोपबाट वञ्चित छन्।
कोरनाकालपछि कति विद्यार्थी विद्यालय फर्किएर गएका छैनन्, त्यसको कुनै तथ्यांक छ? विद्यार्थीहरु कस्ता परिस्थितिबाट समय कटाइरहेको छन् कुनै लेखा लेखाजोखा भएको छ? अनि यी र यस्ता परिस्थितिसँग लड्न के-कस्ता तयारी भएका छन् त? म सबै दोष सम्बन्धित निकायका व्यक्तिलाई मात्र दिंदिन , किनभने हामी त कति यस्ता पनि छौं कि सिद्धान्त र विचारका ठूल्ठूला कुरा गर्छौं तर क्रान्ति र परिवर्तन अर्कैले गर्छ कि भनेर पर्खिएर बस्छौँ ।
कोरना भाइरस रोग मात्र होइन, डर पनि हो। त्यसैले अब शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवाला, विज्ञ सबैजना मिली यो मनको बाघलाई जिती शैक्षिक क्षेत्रमा आधुनिकतालाई प्राथमिकतामा राख्दै शैक्षिक प्रणालीमा केही परिवर्तन ल्याउनु पर्छ ताकि भविष्यमा कोरोना भाइरस होस् या नहोस् शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पर्न नपाओस् ।
"परिस्थिति बदल्नु छ भने पहिला मनस्थिति बदल्न जरुरी छ।"